शुक्रबार, २० कात्तिक २०८३
बिहिबार, १२ कात्तिक २०८३ · समसामयिक
काठमाडौं, कात्तिक १२ । देशको पहिलो सुरुङमार्गको रूपमा यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गरेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा अब निःशुल्क यात्राको समय सकिएको छ। आगामी कात्तिक १५ गतेदेखि यस मार्ग भएर आवतजावत गर्ने सवारीसाधनले अनिवार्य रूपमा सडक उपभोग दस्तुर (टोल ट्याक्स) तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना जारी गर्दै तोकिएको मितिदेखि नै शुल्क उठाउन तयारी पूरा भएको जनाएको छ।
सडक बोर्ड नेपालको निर्णय र राजपत्रको सूचनालाई आधार मान्दै आयोजनाले सवारीसाधनको आकार र क्षमताका आधारमा शुल्कको वर्गीकरण गरेको छ। सुरुङमार्गमा काठमाडौं भित्रिने र बाहिरिने दिशा अनुसार शुल्कमा समेत भिन्नता राखिएको छ।
यस नयाँ व्यवस्थाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबस जस्ता हलुका सवारीसाधनले काठमाडौं छिर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै, मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश गर्दा ११५/१२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। मध्यम तथा ठूला सवारीसाधनतर्फ सिङ्गल रियर एक्सल भएका बस र ट्रकलाई काठमाडौं प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क कायम गरिएको छ। सबैभन्दा भारी मानिने मल्टी एक्सेलग्रुपका ट्रक, ठूला गाडी तथा भारी उपकरणहरूले भने काठमाडौं छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल तिर्नुपर्नेछ।
सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटको नागढुंगा उकालोको सास्तीबाट तमुक्ति पाएका चालक तथा यात्रीहरूले अब तोकिएको यो दस्तुरलाई अनिवार्य रूपमा पालना गर्दै यात्रा गर्नुपर्ने भएको छ।