logo-image

शुक्रबार, २० कात्तिक २०८३

नागढुंगा सुरुङमार्गमा आजदेखि टोल शुल्क लागू, यस्तो छ नयाँ दर

आइतबार, १५ कात्तिक २०८३ · समसामयिक

नागढुंगा सुरुङमार्गमा आजदेखि टोल शुल्क लागू, यस्तो छ नयाँ दर

काठमाडौं, कात्तिक १५ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (आइतबार) देखि टोल शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्गअनुसार सडक उपभोग दस्तुर निर्धारण गर्दै शुल्क संकलन सुरु गर्न लागेको हो

आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै टोल शुल्कसम्बन्धी जानकारी दिएको थियो। नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ। आयोजनाले काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरेको छ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ। यसैगरी, मल्टी एक्सल ट्रक, अन्य सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।

टोल शुल्क लागू भएसँगै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको यात्रा खर्च बढ्ने भएको छ। नयाँ व्यवस्थाअनुसार अब सुरुङमार्ग प्रयोग गर्ने चालकले आफ्नो सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार निर्धारित शुल्क बुझाउनुपर्नेछ।