logo-image

शुक्रबार, २० कात्तिक २०८३

एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छः अध्यक्ष ओली

सोमबार, ०१ भदौ २०८३ · राजनीति

एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छः अध्यक्ष ओली

काठमाडौं, भदौ १ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको उल्लेख गर्दै उच्च मनोबलका साथ एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।
झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै कार्यकर्तामा निहित रहेको बताउनुभएको हो । पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले संकटका बेला एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई मात्र फाइदा पुग्ने उल्लेख गर्नुभयो । केही पक्षबाट नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भलाई केन्द्रित गर्दै अध्यक्ष ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिनुभयो । उहाँले कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गर्नुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले दुईवटा मुख्य लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार देशमा देखिएको प्रतिगमनलाई सच्याएर लोकतन्त्रको रक्षा गर्नु र शान्ति सुव्यवस्था कायम गर्दै विकासको अभियानलाई अघि बढाउनु एमालेको प्राथमिकता हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमाले कायर पार्टी होइन । पार्टी भनेको तपाईं–हामी नै हौँ । तपाईं–हामीलाई अलग गरिदियो भने पार्टीमा केही बाँकी रहन्छ र ? तपाईं–हामी नै पार्टी हौँ । त्यसैले पहिले हामीले आफ्नो मनोबल उच्च बनाउनुपर्छ । यस्तो बेलामा पार्टी फुटेर, कोही यता फर्केर, कोही उता फर्केर, एकले अर्काको खुट्टा तान्न थालेर हामी विरोधीसँग लड्न सक्छौँ र ? हामी एकतावद्ध हुनुपर्छ । केही मान्छेले अध्यक्ष हटाउनुपर्छ भनेर भन्दैछन् भन्ने सुन्छु । यस्तो बेलामा अरू केही नपाएर अध्यक्ष हटाऊ भन्न थाल्ने ? कहाँबाट हटाउने अध्यक्ष ? कसले हटाउने ? कार्यकर्ता पंक्ति नै अध्यक्ष हटाउन तयार छैन भने कसरी हटाउने ? त्यस्तो नहुने कुराको पछाडि लाग्नु बेकार छ । हामी कोही पनि त्यस्ता कुरामा लाग्नु जरुरी छैन। अहिले हामी एकताबद्ध भएर प्रतिक्रियावादी शक्तिविरुद्ध लड्नुपर्छ । मुख्य रूपमा हामीले दुईवटा कुराका लागि तयारी गर्नुपर्छ । पहिलो, देशमा भएको प्रतिगमन सच्याउनुपर्छ । लोकतन्त्र र शान्ति–सुव्यवस्था पुनःस्थापित गर्नुपर्छ, विकासको अभियानलाई अगाडि बढाउनुपर्छ, राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै देशलाई अगाडि बढाउनुपर्छ ।’
अध्यक्ष ओलीले राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध दृढताका साथ लड्न पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभयो । –न्युज एजेन्सी नेपाल