शनिबार, २१ कात्तिक २०८३
शुक्रबार, २६ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ २६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको हो । उहाँले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बेच्न नमानेको गुनासोहरु आउने गरेको समेत बताउनुभयो । यसले त नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बजारमा ग्यास नभए सरकारले स्पष्ट रुपमा नागरिकलाई जानकारी गराउनुपर्ने पनि बताउनुभयो । उहाँले ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नहुने तर्क पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।’
उहाँले ग्यासको आपूर्ति सहज बनाउनतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।