logo-image

बिहिबार, १९ कात्तिक २०८३

नेपाली कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, प्रतिनिधिहरूलाई व्यक्त गरे आभार

बुधबार, २८ असोज २०८३ · राजनीति

नेपाली कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, प्रतिनिधिहरूलाई व्यक्त गरे आभार

 

काठमाडौं, असोज २८ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति कोटातर्फको सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ फराकिलो मतान्तरले निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार कुल ६ हजार ६६९ मत गणना गर्दा लामाले ३ हजार १०२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन्। लामा र घर्ती मगरबीच १ हजार ६५६ मतको फराकिलो अन्तर रहेको छ।

यसै पदका अन्य प्रतिस्पर्धीहरू तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

यसैगरी, जनजाति पुरुषतर्फको १२ जना केन्द्रीय सदस्य पदको नतिजा पनि सार्वजनिक भएको छ। जसमा सर्वाधिक ४,४२५ मत प्राप्त गर्दै तीर्थ लामा पहिलो स्थानमा निर्वाचित भएका छन्। उनीसँगै ई. अनुप श्रेष्ठ (२,५५१ मत), डा. प्रेमध्वज लामा (२,५०५ मत), कर्मा छेरिङ शेर्पा (२,४०६ मत), टेकप्रसाद गुरुङ (२,०९० मत) र भीम श्रीस मगर (२,०४६ मत) विजयी भएका छन्। त्यसैगरी रामकृष्ण चित्रकार (१,९८२ मत), बुद्ध लामा (१,९५६ मत), गेल्जे लामा शेर्पा (१,८१९ मत), वंशलाल तामाङ (१,७५६ मत), अमृत गुरुङ (१,६८९ मत) र सुशील गुरुङ (१,६४४ मत) ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।


निर्वाचित भएपश्चात् सहमहामन्त्री लामाले आफूलाई विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। उनले यो जितलाई व्यक्तिगत उपलब्धिभन्दा पनि कार्यकर्ताको विश्वासको रूपमा लिएको बताए। लामाले अग्रजको अनुभव र युवा पुस्ताको नवीन सोचलाई समेट्दै पार्टीको एकता, संगठन सुदृढीकरण र रूपान्तरणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।