शनिबार, २१ कात्तिक २०८३
शुक्रबार, ०५ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ५ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशका विभिन्न २६ जिल्लामा बहने स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने तथा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको जनाएको छ।
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार निरन्तर वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावनाका कारण साना नदी तथा खोल्साहरूमा पानीको सतह अचानक बढ्न सक्ने देखिएको हो।
जोखिममा रहेका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट रहेका छन्।
महाशाखाले विशेषगरी पहाडी तथा हिमाली भेगका साना जलाधार क्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन, अनावश्यक रूपमा नदी तथा खोल्सा तर्न नजान र सम्भावित विपद्का लागि तयारी अवस्थामा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
