बिहिबार, १९ कात्तिक २०८३
सोमबार, १६ कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेका समाचार र आरोपप्रति आपत्ति जनाउँदै तथ्यहीन प्रचार नगर्न चेतावनी दिएको छ। पार्टीले बिचौलियासँग सम्बन्धित सबै प्रकरणमा निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने मागसमेत गरेको छ।
सभापति गगनकुमार थापाको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा सरकारका पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाइएको दाबी गरिएको छ। कांग्रेसले विशेष महाधिवेशनको नेतृत्व तथा निर्णयको आधिकारिकता निर्वाचन आयोग र अदालतबाट पुष्टि भइसकेको उल्लेख गर्दै हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको वैधानिक तथा संस्थागत प्रक्रियालाई थप स्थापित गरेको जनाएको छ।
विज्ञप्तिमा कांग्रेस लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनका पक्षमा दृढ रहेको उल्लेख गर्दै सरकारका गलत गतिविधिको विरोध गर्दा पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ।
यसैबीच, सभापति थापाले बिचौलियासँग सम्बन्धित सबै प्रकरणमा गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने बताएका छन्। दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। यस विषयमा सरकारलाई कांग्रेसको पूर्ण साथ र समर्थन रहने पनि उनले स्पष्ट पारेका छन्।
तर अनुसन्धानसँग सम्बन्धित कागजात, कथित बयान तथा अन्य विवरण छानिछानी सार्वजनिक भइरहेकाले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको कांग्रेसको भनाइ छ। यसले प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको तथा अनुसन्धान प्रभावित हुन सक्ने आशङ्का उत्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले निष्पक्ष छानबिनबाट पछि नहट्ने स्पष्ट पार्दै राजनीतिक पूर्वाग्रह र अपुष्ट सूचनाका आधारमा आरोप लगाउने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। साथै, आमनागरिकलाई अपुष्ट समाचार तथा सूचनाका आधारमा भ्रममा नपर्न र सम्बन्धित पक्षलाई तथ्य तथा प्रमाणका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न आग्रह गरेको छ।