शनिबार, २१ कात्तिक २०८३
सोमबार, ०५ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ५ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाको विद्युत् आपूर्ति व्यवस्थालाई थप सुदृढ र भरपर्दो बनाउन काठमाडौँका विभिन्न स्थानहरूमा बिजुली कटौती गर्ने भएको छ।
आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाको कामअन्तर्गत टेकु सबस्टेशनको १३२ के.भी. प्यानलमा नयाँ रिले जडान, पुरानो रिले प्रतिस्थापन तथा 'स्यास' जडान गरी परीक्षण गर्नुपर्ने भएकाले असोज ४ देखि १५ गतेसम्म विद्युत् सेवा प्रभावित हुन लागेको हो।
प्राधिकरणका अनुसार यो अवधिमा रत्नपार्क, पुल्चोक, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका न्यूरोड, असन, सुन्धारा, सानेपा, बल्खु, कालिमाटी, त्रिपुरेश्वर, कीर्तिपुर परिसर लगायतका आसपासका क्षेत्रहरूमा तालिका अनुसार रातको ११:०० बजेदेखि बिहान २:०० बजेसम्म र केही स्थानहरूमा बिहान २:०० बजेदेखि ५:०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। मर्मत तथा स्तरोन्नतिको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा छिट्टै सुचारु गरिने र यसबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। थप विवरणका लागि ग्राहकहरूले प्राधिकरणको वेबसाइट www.nea.org.np हेर्न वा हटलाइन नम्बर ११५० (एक्सटेन्सन नं. ३) मा सम्पर्क गर्न सक्नेछन्।