शुक्रबार, २० कात्तिक २०८३
बुधबार, १० भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १० । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रस्थित टिमुरे बजार तथा स्याफ्रुबेँसी क्षेत्रमा आज बिहान आएको आकस्मिक भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा अचानक आएको गेग्रानसहितको बाढीले टिमुरे बजार र भन्सार क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको आशंका गरिएको छ।
बाढी र लेदोको उच्च बहावका कारण टिमुरे बजार क्षेत्रमा रहेका प्रहरी चौकी, भन्सार कार्यालय, विभिन्न होटल, पसल तथा महत्वपूर्ण भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ। बाढीले नदीको प्राकृतिक धारसमेत परिवर्तन गरेपछि बजारको धेरैजसो भाग अहिले खोलामा परिणत भएको छ। साथै, त्यहाँ पार्किङ गरिएका र चलेका सवारीसाधन तथा करोडौं मूल्यका मालवाहक कन्टेनरहरू समेत बाढीले बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन तत्काल निर्देशन दिएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराए अनुसार, उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भइसकेको छ भने छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ खटाइएका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ भने आकस्मिक आवश्यकताका लागि निजी हेलिकप्टरहरूलाई पनि 'स्ट्यान्डबाई' रहन आग्रह गरिएको छ।
बाढीबाट उत्पन्न असहज परिस्थितिसँग जुध्न र सुरक्षा प्रबन्ध मिलाउन सरकारी संयन्त्रहरू पूर्ण रूपमा सक्रिय भएका छन्। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपत्कालीन बैठक बसेको छ। त्यसैगरी, प्रधानमन्त्री शाहले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय समीक्षा बैठक बोलाई आवश्यक निर्देशन दिएका छन्।
भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र तथा सम्भावित जोखिमयुक्त बस्तीहरूका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हरूलाई कडा निर्देशन दिइएको छ। एसएमएस र फोनमार्फत नदी किनारका बासिन्दालाई सचेत गराइएको छ।
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिन–नारायणगढ करिडोरमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई कडा आग्रह गरिएको छ।
नागरिकहरूका लागि अपिल र सम्पर्क नम्बरहरू
सरकारले नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बसोबास गर्न अनुरोध गरेको छ। आफ्ना आफन्तहरूसँग सम्पर्क नभएकाहरूलाई धैर्यता अपनाउन र आधिकारिक सुरक्षा निकायको रेस्क्यु अपडेट कुर्न आग्रह गरिएको छ।
आपत्कालीन उद्धार, राहत तथा थप जानकारीका लागि सरकारले निम्न आधिकारिक नम्बरहरू सार्वजनिक गरेको छ:
१२३४ (राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण)
१०० (नेपाल प्रहरी)
११११ (सशस्त्र प्रहरी बल)
यस भीषण बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण र विस्तृत तथ्याङ्क भने औपचारिक रूपमा आउन बाँकी रहेको छ।