logo-image

शुक्रबार, २० कात्तिक २०८३

१ लाख २१ हजार विद्यार्थी विदेशीए, १ खर्ब २० अर्ब बाहिरियाे

सोमबार, ०१ असार २०८३ · अर्थ

काठमाडौ असार १ ।  मुलुकभित्र रोजगारी र भविष्यको सुनिश्चितता नदेखेपछि हजारौँ युवाहरू बाहिरिने क्रम तीव्र बनेको छ । सरकारले विदेशी विश्वविद्यालय र शिक्षण संस्थाहरू नेपालमै भित्र्याएर विद्यार्थीलाई स्वदेशमै रोक्ने नीति अघि सारे पनि  उच्च शिक्षाका लागि विदेशिने नेपाली विद्यार्थीहरूको संख्या बर्सेनि घट्नुको साटो झन्-झन् बढ्दै गइरहेको छ।

पछिल्ला तीन वर्षमा मात्रै करिब ३ लाख ८५ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति (एनओसी) लिएर विदेश जाने प्रक्रिया अघि बढाएका छन्। शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार  वर्ष २०८० मा १ लाख २ हजार, २०८१ मा १ लाख १६ हजार र २०८२ मा १ लाख २१ हजार विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लिएका छन्। अघिल्लो वर्षको तुलनामा २०८२ मा मात्रै थप ५ हजार विद्यार्थी विदेशिने तयारीमा देखिएका छन्।

पछिल्लाे समय नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ जापान बनेको छ। आर्थिक वर्ष २०८२ मा मात्रै ३९ हजार ३ सय विद्यार्थी जापान गएका छन्, जहाँ अधिकांश भाषा शिक्षा अध्ययनका लागि जाने गरेका छन्। त्यसपछि अस्ट्रेलिया, बेलायत र दक्षिण कोरिया क्रमशः लोकप्रिय गन्तव्य बनेका छन्। अस्ट्रेलियामा २५ हजार ६ सय, बेलायतमा २१ हजार ५ सय तथा दक्षिण कोरियामा ११ हजार विद्यार्थी अध्ययनका लागि पुगेका छन्।

यद्यपि, भारत जान एनओसी अनिवार्य नभएकाले त्यहाँ अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूको वास्तविक संख्या यस तथ्याङ्कमा समावेश छैन। त्यसैले विदेशिने विद्यार्थीको कुल संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ।

विद्यार्थी पलायनले देशको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ। राष्ट्र बै‌ङ्कका अनुसार  गत आर्थिक वर्षमा मात्रै नेपाली विद्यार्थीमार्फत १ खर्ब २० अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ।  विश्वविद्यालय शिक्षालाई सीप, प्रविधि, उद्यमशीलता र रोजगारीसँग प्रत्यक्ष जोड्न नसकेसम्म विद्यार्थी पलायन रोक्न कठिन हुने बिज्ञले बताउँदै आएका छन् ।