logo-image

बिहिबार, १९ कात्तिक २०८३

‘निर्वाचन जनताको मन जित्ने संस्कारयुक्त प्रक्रिया हो’ : रामप्रसाद भण्डारी

बुधबार, ०६ फागुन २०८२ · राजनीति

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा सुशासन प्रवाह गर्न निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

विगतका निर्वाचनमा धेरै चासो नदेखाउने र आफ्नै काममा व्यस्त रहने नागरिकहरू समेत यसपटक निर्वाचनप्रति निकै सचेत देखिएको उहाँको विश्लेषण छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पहिलेको तुलनामा मतदाताहरूको मनोविज्ञानमा ठूलो परिवर्तन आएको दाबी गर्नुभयो । नागरिकहरू अहिले निर्वाचनको महत्व बुझेर स्वयंस्फूर्त रूपमा तयारीमा लागेको उहाँको भनाइ छ । युवाहरूले निर्वाचनलाई केवल मतदानको प्रक्रिया मात्र नभई सुशासनको कडीका रूपमा बुझेको भण्डारीको तर्क छ ।

मतदाता नामावलीमा नाम समावेश गर्नेदेखि लिएर गाउँगाउँ र घरघरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने कार्यमा युवाहरू अगाडि सरेकोमा आयोगले खुशी व्यक्त गरेको छ । यो सक्रियताले निर्वाचन आयोगको बोझ कम मात्र गरेको छैन, बरु लोकतन्त्रको जरालाई अझ मजबुत बनाएको छ ।

बढ्दो जनचेतना र सक्रियताका आधारमा यसपटक मतदानको प्रतिशत उल्लेख्य रूपमा बढ्ने र बदर मतको संख्या घट्ने आयोगको अपेक्षा छ ।

यस दाबीलाई पुष्टि गर्ने थुप्रै आधारहरू रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

विगतका निर्वाचनको तुलनामा यस पटक मतदानको प्रतिशत बढ्ने र बदर मतको संख्या घट्नेमा आयोग विश्वस्त रहेको छ । स्वयंसेवकहरू घर–दैलोमा पुगेर मतदान प्रक्रिया सिकाउन सक्रिय रहेको र आयोगले दैनिक रूपमा मतदाता शिक्षा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख आयुक्त भण्डारीले परम्परागत सञ्चार माध्यमको तुलनामा अहिले सामाजिक सञ्जालको प्रभाव निकै बढेको बताउनु भयो ।

निर्वाचन हुनु ४८ घण्टा अगाडिदेखि शुरु हुने ‘मौन अवधि’ (प्रचारप्रसार निषेध गरिएको समय) को विशेष महत्व रहेको बताउनु भयो । उहाँले यसलाई मतदाताले आफ्नो अन्तरात्माको आवाज सुन्ने समयका रूपमा व्याख्या गर्नुभयो

पछिल्लो समय आयोग र सञ्चार जगतबीच केही विषयमा देखिएको असमझदारीलाई स्पष्ट पार्दै उहाँले आयोग प्रेस स्वतन्त्रताको कट्टर हिमायती रहेको बताउनु भयो । यद्यपि, मतदान हुनुअघि नै गरिने ‘मत सर्वेक्षण’ र हारजितको अनुमानले प्रतिष्पर्धाको वातावरण बिगार्ने भन्दै त्यस्ता कार्य नगर्न उहाँले अनुरोध गर्नुभयो ।

कतिपयले निर्वाचन अगाडि नै ल्याइएको भन्ने जिज्ञासाको उत्तर दिँदै उहाँले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने एक मात्र प्रक्रिया निर्वाचन भएको दाबी गर्नुभयो ।

यस पटकको निर्वाचनमा युवा वर्ग, विशेषगरी ‘जेन—जी’ को उपस्थिति र चासो निकै बढेकोमा आयोगले खुशी व्यक्त गरेको छ । भण्डारीकाअनुसार करिव ८ देखि १० लाख नयाँ मतदाता नामावलीमा थपिएका छन् । युवाहरूले मुलुकमा सुशासनका लागि निर्वाचनको महत्व बुझेर गाउँ–गाउँमा मतदाता शिक्षामा सहयोग गरिरहेको उहाँले बताउनु भयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सञ्चार जगत र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको भुमिका अपरिहार्य रहेको बताउनु भयो । आगामी निर्वाचनको सन्दर्भमा आयोगद्वारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले डिजिटल प्रविधिको युगमा सही सूचना संप्रेषण गर्नु नै अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभएको हो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले कलाकारहरूलाई ‘राष्ट्रका गहना’ को संज्ञा दिँदै समाजलाई सही मार्गनिर्देशन गर्न र तथ्यपरक सूचना प्रवाहमा नेतृत्व लिन आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल