शुक्रबार, २० कात्तिक २०८३
मङ्गलबार, ३० भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ३० । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा गएको पहिरो हटाई नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सवारी साधन सञ्चालनमा आएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा गरेकाे घोषणा तोकिएकै समयभित्र पूरा भएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत व्यवस्थापनबारे गत भदौ १७ गते प्रतिनिधिसभालाई जानकारी गराउने क्रममा प्रधानमन्त्री शाहले भदौ महिनाभित्रै कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको प्रत्यक्ष अगुवाइमा भदौ २८ गतेदेखि नै उक्त खण्डमा परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निरन्तर खटाइ र प्राविधिक टोलीको उच्च तत्परताका कारण असोज १ गते बिहीबारदेखि भने यस सडकखण्डमा दुईतर्फी रूपमै यातायात सञ्चालन गर्न लागिएको छ। गत भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ १४ गतेको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि राजमार्गको यातायात ठप्प बनेको थियो।
लगत्तै पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञ प्राविधिकहरूले ४ दिनसम्म द्रुत अध्ययन गरी पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउने विकल्प अघि सारेका थिए। सोही सुझावका आधारमा भदौ १९ गतेदेखि रुख कटान गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ ट्रयाक निर्माण गरिएको हो। प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर खटेर काम गरेपछि १०औँ दिनमा ग्यास बुलेटसहितका अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा सञ्चालन गर्न सफलता मिलेको थियो।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने र नाली निर्माण गरी सडक मजबुत बनाउने अन्तिम चरणको काम भइरहेको छ। बुधबारसम्म ग्राभेलको काम पूर्ण रूपमा सकिने र असोज १ गते बिहानैदेखि दुवैतर्फबाट निर्बाध रूपमा गाडी चल्ने मन्त्रालयले जनाएको छ।