बिहिबार, १९ कात्तिक २०८३
सोमबार, २२ असार २०८३ · अर्थ
काठमाडौँ असार २२। नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सम्पन्न गरिसकेको बैंकले नयाँ नीतिका प्राथमिकता र व्यवस्थाहरूमाथिको छलफललाई अन्तिम चरणमा पुर्याएको हो। राष्ट्र बैंकले आगामी नीति तर्जुमाका लागि सरोकारवालाहरूलाई केवल मौद्रिक नीतिमा मात्रै केन्द्रित भएर व्यावहारिक सुझाव दिन आग्रह समेत गरेको छ।
केन्द्रीय बैंकको प्रारम्भिक निष्कर्षअनुसार हाल बजारमा ब्याजदर घटेको र तरलताको अवस्था सहज एवं स्थिर रहे पनि कर्जाको माग भने अझै कमजोर देखिएको छ। बजारमा मुद्रास्फीति (महँगी) न्यून रहनु र कतिपय क्षेत्रमा मूल्य गिरावट देखिनुलाई राष्ट्र बैंकले आर्थिक मन्दीको संकेतका रूपमा विश्लेषण गरेको छ। यसले गर्दा निजी क्षेत्रको मनोबल खस्किएको र बजार चलायमान हुन नसकेको बुझाइ बैंकको छ।
यही संवेदनशीलतालाई ध्यानमा राख्दै आगामी मौद्रिक नीतिको मुख्य प्राथमिकता कर्जाको माग र कर्जा प्रवाह दुवैलाई उल्लेख्य रूपमा बढाउने तर्फ केन्द्रित हुने देखिन्छ। खासगरी उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्न बैंकले विशेष जोड दिने रणनीति बनाएको छ। अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंकले नीतिगत लचकता अपनाउने संकेत गरे पनि नियामकीय नीतिहरूमा भने ठूलो परिवर्तन नगर्ने बुझिएको छ। बैंकले नियामकीय नीतिहरूलाई यथावत् राख्दै मौद्रिक औजारहरू (जस्तै: नीतिगत दर, सीआरआर, एसएलआर आदि) मा मात्र आवश्यक परिमार्जन गर्ने तयारी गरेको छ।
यतिबेला बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो निष्क्रिय कर्जा को व्यवस्थापन गर्नु राष्ट्र बैंकका लागि सबैभन्दा ठूलो र प्रमुख चुनौती बनेको छ। निष्क्रिय कर्जाको चापका कारण बैंकहरूको नाफा र कर्जा लगानी गर्ने क्षमतामा समेत संकुचन आएको छ।
यस परिस्थितिमा, आगामी मौद्रिक नीतिको प्रभावकारी ट्रान्समिसन मेकानिजम (प्रसारण संयन्त्र) मार्फत वित्तीय प्रणालीको रकमलाई वास्तविक अर्थतन्त्रसम्म पुर्याउने र शिथिल बनेको बजारलाई पुनः चलायमान बनाउने मुख्य लक्ष्य नेपाल राष्ट्र बैंकले लिएको छ।