logo-image

शुक्रबार, २० कात्तिक २०८३

भारी वर्षा र आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

बुधबार, ०७ असोज २०८३ · समसामयिक

भारी वर्षा र आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौ, असोज ७ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ७ गतेदेखि ९ गते (सेप्टेम्बर २३ देखि २५) सम्म देशका विभिन्न भागमा लगातार तीन दिन भारी वर्षा, हावाहुरी र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै विशेष मौसम चेतावनी जारी गरेका छन्।

आज असोज ७ गते काठमाडौँ, भक्तपुर, ललितपुर, झापा, इलाम, कास्की, चितवन, धादिङ, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट लगायत पूर्वदेखि मध्य नेपालका ३० भन्दा बढी जिल्लाहरू भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ।

यसका साथै आज दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू-भागमा भारी वर्षा हुनुका साथै मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।

आगामी दुई दिन मौसम अझै प्रतिकूल रहने पूर्वानुमान गरिएको छ। भोलि असोज ८ गते बिहीबारका दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा र पहाडी भू-भागमा अति भारी वर्षाको जोखिम रहेको छ।

त्यसैगरी असोज ९ गते शुक्रबार दिउँसो र राति देशभर वर्षाको प्रकोप अझ बढ्नेछ, जहाँ कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना व्यक्त गरिएको छ।

मौसममा आउने यस परिवर्तन र बाढी-पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जल तथा मौसम विभागले नदी किनार तथा भिरालो जमिन आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ।