logo-image

बिहिबार, १९ कात्तिक २०८३

सातै प्रदेशमा भारी वर्षा, सजग रहन चेतावनी

बिहिबार, १८ असार २०८३ · अर्थ

सातै प्रदेशमा भारी वर्षा, सजग रहन चेतावनी

काठमाडौं, असार १८ । नेपालमा मनसुनी वायुको प्रभाव तीव्र बनेसँगै देशभर मौसममा व्यापक बदली आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशका सातै प्रदेशमा हल्कादेखि भारी वर्षा रेकर्ड गरिएको छ, जसका कारण जनजीवन प्रभावित बन्न पुगेको छ।

महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशभरिमै सबैभन्दा बढी वर्षा कञ्चनपुरको दोधारामा १४९.६ मिलिमिटर मापन गरिएको छ। यस्तै, कपिलवस्तुको वनगंगामा ११७.६ मिलिमिटर र सङ्घीय राजधानी काठमाडौँको नागार्जुनमा ४६.६ मिलिमिटर वर्षा भएको छ। बिहीबार बिहानैदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा लगातार झरी परिरहेको छ। पछिल्लो एक घण्टाको अवधिमा मात्रै कञ्चनपुरको दोधारामा १७.४, नुवाकोटको त्रिशूलीमा १५.८ र हनुमाननगरमा १२.४ मिलिमिटर वर्षा भइसकेको छ।

बिहीबार दिउँसो र राति पनि देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। दिउँसो हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

 बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको पूर्वानुमान छ। यस्तै, रातिको समयमा गण्डकी प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई दुवै क्षेत्रका केही स्थानमा मुसलधारे (भारी) वर्षाको उच्च जोखिम रहेको छ।

कोशी, मधेश र तराईका अन्य क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन पर्ने देखिन्छ।