logo-image

बिहिबार, १९ कात्तिक २०८३

‘विश्वको छाना भत्किँदैछ’: नेपालका विपद्लाई लिएर गुटेरेसको गम्भीर चेतावनी

बुधबार, ०७ असोज २०८३ · अन्तर्राष्ट्रिय

‘विश्वको छाना भत्किँदैछ’: नेपालका विपद्लाई लिएर गुटेरेसको गम्भीर चेतावनी

 

काठमाडौ, असोज ७ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला विपद्का घटनाले जलवायु संकटको बढ्दो जोखिमलाई थप स्पष्ट पारेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत साधारण बहसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जाँदा नेपालसहित हिमाली मुलुकहरू गम्भीर रूपमा प्रभावित भइरहेको बताए। हिमनदी पग्लने क्रम तीव्र हुँदै गए यसले भविष्यमा अझ ठूलो वातावरणीय तथा मानवीय समस्या निम्त्याउन सक्ने उनको भनाइ छ।

गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा पुगेर हिमनदी तीव्र गतिमा पग्लिरहेको र ‘विश्वको छाना भत्किँदै गएको’ भन्दै दिएको चेतावनी स्मरण गरे। उनले नेपालमा देखिएका बाढीपहिरोजस्ता पछिल्ला विपद् घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको बताए।

उनले जलवायु संकट अब भविष्यको सम्भावित समस्या नभई वर्तमानको वास्तविकता बनिसकेको उल्लेख गर्दै विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले यसको ठूलो मूल्य चुकाइरहेको बताए।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई सहयोग गर्न अनुकूलन तथा क्षति–नोक्सानीका लागि पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउन विकसित राष्ट्रहरूलाई आग्रह गरे। साथै, जीवाश्म इन्धनको प्रयोग घटाउँदै स्वच्छ ऊर्जातर्फ तीव्र र न्यायपूर्ण संक्रमण आवश्यक रहेकोमा जोड दिए।