बिहिबार, १९ कात्तिक २०८३
शुक्रबार, १३ कात्तिक २०८३ · मनोरञ्जन
काठमाडौं । कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बाटुलो जून’ को शीर्षगीत सार्वजनिक भएको छ। एसडी योगी र सानु सुनारको सुमधुर स्वर रहेको गीतमा प्रेम, विछोड र भावनात्मक सम्बन्धलाई मिठासपूर्ण संगीतमार्फत प्रस्तुत गरिएको छ।
सफ्ट संगीत, भावुक शब्द र मन छुने धुनले सजिएको गीतले दर्शकलाई भावनात्मक अनुभूति गराउने देखिन्छ। गीतमा अभिनेता अनमोल केसीलाई युवावस्थाका भुवन केसीको रूपमा प्रस्तुत गरिएको छ। अनमोल र प्रिन्सी खतिवडाबीचको प्रेम तथा रोमान्सले गीतलाई थप आकर्षक बनाएको छ।
गीतको अर्को विशेष आकर्षण अभिनेत्री गरिमा पन्तको सरप्राइज कमब्याक हो। लामो समयपछि पर्दामा देखिएकी गरिमाको उपस्थितिले चलचित्रप्रति दर्शकको उत्सुकता थप बढाएको छ। गीतमा भुवन केसीलाई समेत देख्न सकिन्छ।
चलचित्रमा प्रिन्सी खतिवडा, अनमोल केसी, भुवन केसी र गरिमा पन्तसँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेयर राई, श्वेता मिश्र, सुजन भाइ, सबिन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हिना नागरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा समीप्यराज तिमल्सिना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन् भने पटकथा समीप्यराज तिमल्सिना र सरिन पोखरेलको रहेको छ। चलचित्रमा विक्रम स्वाँर र कबिराज गहतराजको कोरियोग्राफी छ भने भिएफएक्सको काम मोसन स्टुडियोले गरेको छ।
आगामी कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने ‘बाटुलो जून’को शीर्षगीतले सुमधुर संगीत, भावुक प्रस्तुति र कलाकारहरूको प्रेमिल दृश्यमार्फत दर्शकमाझ उत्सुकता जगाएको छ।