बिहिबार, १९ कात्तिक २०८३
मङ्गलबार, २३ असार २०८३ · अर्थ
काठमाडौं असार २३ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँभन्दा बढी बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। उद्योग विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनदेखि जेठ १४ गतेसम्म कुल ९१४ वटा उद्योगका लागि उक्त लगानी स्वीकृत भएको हो।
विभागका अनुसार यस अवधिमा स्वीकृत भएको लगानीबाट नेपालमा २५ हजार ४५० जनाले प्रत्यक्ष रोजगारी पाउने प्रतिबद्धता जनाइएको छ। जेठ महिनामा मात्रै १८६ वटा उद्योगमा २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक लगानीको क्षेत्रगत वर्गीकरण हेर्दा नेपाली बजारमा नयाँ ट्रेन्ड देखिएको छ। संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै आकर्षण देखिएको छ। यस क्षेत्रमा मात्रै ५७७ वटा उद्योगले स्वीकृति पाएका छन्, जुन कुल परियोजनाको करिब ६३ प्रतिशत हो।
तर, लगानी रकमका आधारमा भने कृषि तथा वनमा आधारित उद्योग अग्रस्थानमा रहेका छन्। यस क्षेत्रमा जम्मा १६ वटा परियोजना स्वीकृत भए पनि लगानी प्रतिबद्धता भने २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको छ। यो कुल स्वीकृत प्रतिबद्धताको करिब ४६ प्रतिशत हिस्सा हो।
| क्षेत्र | उद्योग संख्या | स्वीकृत लगानी (रुपैयाँमा) |
| कृषि तथा वन | १६ | २२ अर्ब ८ करोड ८० लाख |
| पर्यटन | २०२ | १२ अर्ब ९९ करोड ७४ लाख |
| सेवा क्षेत्र | ६२ | ४ अर्ब ५९ करोड ९० लाख |
| उत्पादनमूलक | ५२ | ३ अर्ब ५७ करोड १० लाख |
| पूर्वाधार | १ | १ अर्ब ६५ करोड ४४ लाख |
नेपाल भित्रिने वैदेशिक लगानीमा आकारका आधारमा साना उद्योगको संख्या अत्यधिक देखिएको छ। कुल ९१४ उद्योगमध्ये ८९४ वटा साना, ११ वटा मझौला र ९ वटा ठूला उद्योग रहेका छन्। जेठ महिनामा मात्रै स्वीकृत भएका १८६ उद्योगमध्ये पनि १८३ वटा साना र ३ वटा मझौला उद्योग रहेका छन्।
प्रतिवेदनअनुसार जेठ महिनामा मात्रै उद्योग विभागले ९५ जना लगानीकर्तालाई व्यवसायिक भिसा, ५१ जनालाई प्रतिनिधि भिसा र ८५ जनालाई आश्रित भिसाका लागि सिफारिस गरेको छ। यसका साथै प्रविधि हस्तान्तरण, लाभांश तथा रोयल्टी शीर्षकमा विदेशी मुद्रा बाहिर लैजानेसम्बन्धी विभिन्न स्वीकृतिहरू पनि जारी गरिएको विभागले जनाएको छ।
उद्योग विभागका अनुसार नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने प्रयास निरन्तर जारी रहे पनि लगानीको ठूलो हिस्सा अझै सीमित क्षेत्रमै केन्द्रित देखिएको छ। विशेषगरी प्रविधि तर्फ युवा विदेशी लगानीकर्ताको आकर्षण बढिरहे पनि रैथाने र परम्परागत ठूला लगानी भने कृषि र पर्यटनजस्ता स्थापित क्षेत्रमै बढी केन्द्रित भएको देखिन्छ ।