logo-image

बिहिबार, १९ कात्तिक २०८३

भक्तपुरको जगातीदेखि रत्नपार्कसम्म मेट्रो रेल सञ्चालन गर्ने प्रस्तावमाथि छलफल

बुधबार, १८ कात्तिक २०८३ · समसामयिक

भक्तपुरको जगातीदेखि रत्नपार्कसम्म मेट्रो रेल सञ्चालन गर्ने प्रस्तावमाथि छलफल

 

भक्तपुर,  कात्तिक १८ ।  काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले भक्तपुरको जगातीदेखि काठमाडौंको रत्नपार्कसम्म मेट्रो रेल सञ्चालन गर्ने प्रस्तावबारे छलफल भएको छ।

भक्तपुर नगरपालिका (भनपा) को सभाकक्षमा आयोजित कार्यक्रममा प्रस्तावित मेट्रो रेलले सार्वजनिक यातायात व्यवस्थापन, यात्रु सेवा तथा वातावरणमा पार्न सक्ने प्रभावबारे छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेट्रो रेल सञ्चालनको योजना सकारात्मक भए पनि त्यसअघि विस्तृत सम्भाव्यता अध्ययन आवश्यक रहेको बताए।

उनले देशको सार्वजनिक ऋणभार ३० खर्ब रुपैयाँ पुगेको सन्दर्भ उल्लेख गर्दै ठूलो परियोजनाको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता र निर्माण सम्पन्न हुने समयसीमा स्पष्ट हुनुपर्नेमा जोड दिए।

प्रजापतिले मेट्रो रेल सञ्चालन हुने स्थान, सम्भावित चुनौती र समाधानका उपायबारे समेत अध्ययन गर्नुपर्ने बताए। साथै, संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय र सहमति कायम गरेर मात्रै योजना अघि बढाउनुपर्ने उनको भनाइ थियो।

प्रस्तावअनुसार रत्नपार्कदेखि भक्तपुरसम्म ११ वटा स्टेसन रहने र भक्तपुरमा मात्रै तीनवटा स्टेसन निर्माण गर्ने योजना रहेको छ। यस विषयमा टिप्पणी गर्दै प्रमुख प्रजापतिले छोटो दूरीमा धेरै स्टेसन आवश्यक पर्ने वा नपर्नेबारे पनि अध्ययन गर्नुपर्ने बताए।

कार्यक्रममा समाजशास्त्रीय अध्ययन टोलीका चन्द्रकान्त लौडारीले स्वागत मन्तव्य राखेका थिए। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का विज्ञ टोलीका सदस्य हायातो कोबायासीले परियोजनाबारे जानकारी दिएका थिए भने वातावरणविद् अध्ययन टोलीका लोकेश सापकोटाले परियोजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले प्रस्तावित भक्तपुर–रत्नपार्क मेट्रो रेल योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि धारणा राखेका थिए।