काभ्रेको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
शुक्रबार, २९ जेठ २०८३ · समसामयिक
काभ्रेपलाञ्चोक, जेठ २९ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट (सेल्फी डाँडा) मा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन्।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दिउँसो करिब २:२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घाइते १५ जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल र बनेपाका विभिन्न अस्पतालहरूमा पठाइएको छ।
मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।